‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

Posted on: 13 Jul, 2019

असार २८, बनेपा । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५÷६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै छिमेकी जम्मा भएर गरिएको उद्धारका क्रममा सोही पहिरोमा परी पुरिएको अवस्थामा बुहारी सुशीला दङ्गाल र तीन महीनाकी नातिनी अनुष्का दङ्गालको उद्धार गर्न सफल भएका छन् ।

“गाउँमा मान्छेहरु एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाई समेत बचाउन सफल भयौँ”, छिमेकी रीता दङ्गालले भन्नुभयो, “घटना भएलगत्तै मेरी छोरीलाई यहाँबाट घर भत्केर ठूली आमा पुरिए भनेर बोलाउन लगायौंँ, सबै जना एकैछिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकालेका हौँं ।”

अर्का छिमेकी लालप्रसाद सापकोटाले आफूहरुले घटनालगत्तै सबै जुटेर उद्धार गर्न लागे पनि सबैलाई बचाउन नसकेकामा दुखेसो गर्नुभयो । खाना पकाइरहेको अवस्थामा पहिरो झरेर पुरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बनेपाका नायब प्रहरी निरीक्षक विष्णु सापकोटाले घटनालगत्तै जानकारी पाएपछि आफूहरु खटिएको र घाइतेलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको बताउनुभयो । 

घरमा आठ जनाको परिवार भएकामा घरमुली रामप्रसाद बिहानै बनेपामा दूध बेच्नका लागि डेरीमा गएका, कान्छो छोरा बुहारी बनेपामा नै बस्दै आएका र जेठो छोरा विदेशमा रहेको जनाइएको छ । भूकम्पको पहिलो किस्तावापत रु ५० हजार लिएको भए पनि बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन नसकेको र त्यसलाई हटाउन विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि त्यसको क्षतिपूर्ति उपलब्ध गराएमा मात्रै सम्भव नहुने बताएपछि त्यत्तिकै रहेको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!