बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति उपराष्ट्रपति मर्माहत

Posted on: 13 Jul, 2019

असार २८, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाउनुभएको छ । 

आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित हुनु निकै दुखद् भएको बताउनुभएको छ । 

बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपतिले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । बाढी, डुबान र पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गर्न, पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बाढी पहिरोबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गर्नुभएको छ । 

उपराष्ट्रपतिले पीडितको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न सङ्घ संस्था, आम नेपाली जनता र युवापङ्क्तिलाई विशेष अपिल गर्नुभएको छ । उहाँले बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!