ओखलढुङ्गामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

Posted on: 13 Jul, 2019

असार २८, ओखलढुङ्गा । पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो । 

घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए । 

यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् ।

जिल्लामा बाढीपहिरोबाट हालसम्म  पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!