बाढीपहिरो अपडेट : मर्नेका सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता

Posted on: 13 Jul, 2019

असार २८, काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिनुभयो । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । 

यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । 

बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । 

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् ।

सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!