बाबुको मृत्यु, आमाको दोस्रो बिहेले तीन बालबालिकाको बिचल्ली

Posted on: 14 Jul, 2019

असार २९, जाजरकोट | बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् । बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र१० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन । उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८,७८ र ६ कक्षामा पढ्छन् । “पढ्न मन भएर के गर्ने ?कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ”,हीराले भने ।

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताउनुभयो । “दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु”,उहाँले भन्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!