जाजरकोटमा जङ्गली च्याउ खाँदा सात बिरामी

Posted on: 14 Jul, 2019

असार २९, जाजरकोट |  जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् ।

यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा अमिन शाहले बताउनुभयो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताउनुभयो । बारेकोट घरबाट खलङ्गा आउँदा फूलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए । खाएलगत्तै उनीहरुमा बान्ता भएको थियो । जङ्गलमा जथाभावी उम्रेको च्याउ नखाना डा शाहले सबैमा अनुरोध गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!