दुईको शव फेला, नौ जना अझै बेपत्ता

Posted on: 14 Jul, 2019

असार २९, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन् ।

खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दूरीको रहेको काशिलस्थित बस्तीमा सदरमुकामबाट गएको सुरक्षा अधिकारी लगायतको टोली आज बिहान मात्र पुगेको थियो । 

टेलिफोन सेवा उपलब्ध नभएको सो ठाउँमा अग्ला डाडाँमा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । अहिलेसम्म ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको मात्र शव फेला परेको छ । माथि गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले बस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र ईलस्थित प्रहरीचौकीमा सामान्य सम्पर्क भए पनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्य भएको उहाँले बताउनुभयो ।

अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित नौ जना हुनसक्ने आँकलन गरिएको छ । 

घट्टामा अन्न पिस्न गएका बालबालिका पहिरोमा परेका थिए । सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोलीले शनिबार बेलुकी नै घटनास्थल गएको भए पनि आज बिहान मात्र पुगेको उहाँले बताउनुभयो । 

दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ । बाढीले १५  वटा पानीघट्टा बगाएको छ । घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पूर्व शान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । जाजरकोट नलगाड नगरपालिकाबाट नजिकपर्ने सो स्थानमा फोन सेवा उपलब्ध छैन । 

सडक सञ्जालसँग नजोडिएको उक्त ठाउँ निकै जटिल भूगोल र चटानले बनेको छ । चट्टानको बीचमा घोडेटो बाटो निर्माण गरी मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिका जाने गरिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!