महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बेपत्ता

Posted on: 14 Jul, 2019

 असार २९, गौशाला । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् । 

बजराई गाउँबाट किनमेल गर्न जलेश्वर जाने क्रममा बाढीले दुवै बालकलाई बगाएको हो । बेपत्ता दुवैको नेपाली सेना र नेपाल प्रहरीले  खोजी गरिरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।  

पूर्वपश्चिम राजमार्गको भब्सीमा वैकल्पिक मार्ग सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ । शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन)  खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दिवास जलेश्वर सडकको औरही हुँदै गौशालाबाट फेरि पूर्वपश्चिम राजमार्ग समातेर चलेका थिए । बाढीले बर्दिवास जलेश्वर सडक कैयौँ ठाउँ खङ्गारिएर खाल्डो बनेकाले ठूला सवारी साधन चलाउन अप्ठ्यारो हुँदै आएको थियो । 

बगेको पुलकै छेउबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जनकपुर र स्थानीय स्वयंसेवी युवाको लगातार दुई दिनको प्रयत्नले आज साँझ वैकल्पिक मार्ग बनेपछि सवारी साधनको सहज आवागमन खुलेको हो ।

वर्षा र बाढीको सम्भावना अझै रहेकाले बगेको पुलकै ठाउँमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ । बेलिब्रिज जडान कार्यमा एक सातासम्म लाग्नसक्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको हो । 

बर्दिवासमा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय लहानबाट ल्याइँदै गरिएको र जडानका लागि दक्ष कामदार काठमाडाँैबाट झिकाइएका छन् । २०२६ सालमा तत्कालिक शोभियत सङ्घको सहयोगमा निर्मित ५० मिटर लम्बाइको सो पुल बीचको अवधिमा एक पटक मर्मतसम्भार गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!