शौचालयको ग्रील तोडेर ३ थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी निलम्बित

Posted on: 14 Jul, 2019

असार २९, बाँके | बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा चारजना थुनुवा रहे पनि ३ जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बिरबहादुर ओलीले भेन्टिलेटरको ग्रिल भित्रपट्टी कपडाले छोपेर राखेको अवस्थामा भेटिएको बताउँदै राम्रोसंग फिक्स नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको बताए।

फरार भएकाहरु मध्ये बिक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताईएको छ।

२३ जनाको दरबन्दी रहेको सो कार्यालयका ईन्चार्ज मख्खनप्रसाद यादव ६ दिनको बिदा लिएर उपचारका लागि काठमाण्डौ गएकै दिन शनिवार घटना घटेको हो ।

उनी बिदामा रहेपछि कार्यालयको जिम्मेवारी सई चक्रबहादुर खत्रीले सम्हालेका थिए। उनीहरु भागे लगत्तै जिल्ला प्रहरीले विभिन्न माध्यमवाट खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

यसैबीच डयुटीमा लापरवाही गरेको भन्दै सेन्ट्रीमा रहेका प्रहरी जवान शमशेरबादुर थापालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!