नुवाकोटका दुई युवा सहित ३ जना पेस्तोलसहित नयाँ बसपार्कबाट पक्राउ

Posted on: 14 Jul, 2019

असार २९, काठमाडौँ | काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँको नयाँ बसपार्कमा पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा सर्च गर्दा प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ परेका हुन् ।

मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचना पाएको प्रहरीले सर्च हानेको थियो । सर्चका क्रममा होटलमा पुगेको प्रहरीले सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल र उनीहरुले चढेको दुई थान मोटरसाइकल बरामद गरेको छ । 

बालुवा उत्खननले कोल्पुखोलाको पुल जोखिममा

नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो ।

पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ । स्थानीयवासीले पुलै जोखिममा पारेर तस्करले बालुवा झिक्ने गरेको भन्दै आफूसमक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपत्कालीन समितिको बैठकमै बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराउनुभएको थियो । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध टिपरले बस, माइक्रोबस र साना सवारीलाई आवतजावत गर्न गाह्रो परेको चालक बताउँछन् । 

पुल नजिकका क्षेत्रमा ढुङ्गागिट्टीको उत्खनन कार्य निरन्तर गरिएकाले पुलको बिम रहेको खोलाको सतह गहिरिँदै जाँदा पुल सङ्कटमा परेको हो । एक दशकअघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटरभन्दा बढी गहिरिइसकेको स्थानीयवासीको भनाइ छ । अनियन्त्रितरूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन  गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २०० मिटर क्षेत्रफलमा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाएको छ । नियमावलीले पुलको वरपर बालुवा, ढुङ्गा, गिट्टीलगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ । 

स्थानीयवासीले पुल क्षेत्रमा पनि  दर्ता नगरी चोरी निकासी गर्नेहरुले भने बेलाबेलामा उत्खनन गर्ने गरेको गुनासो गरेका छन् । त्रिशूली नदीमा बालुवा, गिट्टी उत्खननले पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिँदै गइरहेको छ । नदीमा स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाइए पनि ठेकेदारले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरी नदीजन्य वस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहँुदा राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको पुल सङ्कटमा पर्दै गएको हो । थोरै राजश्व सङ्कलन हुने नाममा करोडौँको पुललाई दाउमा राखिरहेकाले यो क्षेत्रमा धादिङ र नुवाकोट दुवै जिल्लाका सरोकारवाला मिलेर नदीजन्य वस्तु उत्खननमा प्रतिबन्ध लगाउनुपर्ने स्थानीयवासीको भनाइ रहँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!