आगामी तीन दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

Posted on: 15 Jul, 2019

असार ३०,काठमाण्डौ । आउँदो २४ घण्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले मौसम पूर्वानुमान महाशाखाले सचेत रहनअनुरोध गरेको छ । 

देशको पहाडी भूभागमा वर्षाका कारण पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यस्तै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

 अहिले देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भैरहेको छ । अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।

आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने महाशाखाले  पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।  

साउन १ गते बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय हुने पूर्वानुमान महाशाखाले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!