डडेल्धुराको रडुवा खोलाको पुल निर्माणमा पाँच वर्षसम्मआधामात्रै काम

Posted on: 15 Jul, 2019

असार ३०, डडेल्धुरा |  डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन ।  

पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवदुर्गा गाउँपालिका–२ का स्थानीयवासी रामचन्द्र अवस्थीले बताउनुभयो । 

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोला पक्की मोटरेबल पुल २०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृति निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको  हो ।

 सम्झौता भएको पाँच वर्ष हुँदासम्म पुल निर्माणको जम्मा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ । यसैगरी  डडेल्धुराकै सकायल खोलामा निर्माण भइरहेको डाँडावन पक्की मोटरेबल पुलको पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बितिसक्दा पुल निर्माण कार्य करीब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा सम्झौता गरेको थियो ।

गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको डाँडावन पुलको दुवैतर्फका अपूरा पिलर मात्रै निर्माण भएका छन् । यी दुवै पुलको निर्माण समयमै सम्पन्न नहुँदा नवदुर्गा गाउँपालिका–२, ३ र ४ का स्थानीय बासिन्दालाई बर्सातको समयमा जिल्ला सदरमुकामदेखि अन्य भागमा आवतजावतका लागि समस्या हुने गरेको स्थानीयवासी दीपक अवस्थीको भनाइ छ ।

यी दुवै पुलको निर्माण गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भए पनि अटेर गरी काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताउनुभयो ।

निर्माण व्यवसायीले पुल निर्माणको कामलाई अलपत्र अवस्थामा छोड्दा स्थानीयवासी बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेका छन् भने यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!