इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्तामा बस्छ :राष्ट्रपति रौहानी

Posted on: 15 Jul, 2019

 असार ३० (रासस/ सिन्ह्वा) । इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । 

उहाँले भन्नुभयो– यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ ।

हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अरुलाई होच्याउने काम छोड्नुपर्छ र हामीमाथि लगाइएका नाकाबन्दीहरु सबै खारेज हुनुपर्छ– राष्ट्रपति रौहानीले आइतबार जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । 

अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनुभएको उहाँलाई उद्धृत गर्दै इरानी समाचार समिति मेहर न्युज एजेन्सीले जनाएको छ । 

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरुको सो प्रतिक्रियापछि आइतबारै इरानी राष्ट्रपति रौहानीको सो भनाई बाहिर आएको छ । उहाँले यसअघि जस्तै आइतबार पनि इरान सधैँ वार्ताको पक्षमा रहेको धारणा राख्नुभएको हो ।

गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा तोडेको थियो । सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो ।

अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो ।

यसैकारण गएका केही महिनायता अमेरिका र इरानबीचको विबाद झन बढ्दै गएको छ । इरानमाथि युरोपेली राष्ट्रहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन् । 

यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ । इरानको यो वार्ताप्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!