बालबालिकाको खानामा चिनीको मात्रा धेरै : डब्लुएचओ

Posted on: 15 Jul, 2019

 असार ३०, कोपेनहेगेन  (रासस/एएफपी) ।  बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । 

खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । 

सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरुले जनाएका छन् । 

उनीहरूका अनुसार संगठनले अष्ट्रिया, बुल्गेरिया, इजरायल र हङ्गेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो ।

“परीक्षण गरिएका मध्ये आधा भन्दा बढीमा ३० प्रतिशत भन्दा बढी क्यालोरी रहेको पाइएको छ,” डब्लुएचओको युरोपेली शाखाले उल्लेख गरेको छ ।

फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ ।  

“तर अति धेरै गुलियो पदार्थ व्यवसायीक खाद्य पदार्थहरुमा पाइएकाले त्यसप्रति चासो बढेको हो,” एक अधिकारीले भने । 

अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँतसम्वन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

“राम्रो पौष्टिक तत्वका लागि जोड गर्नु पर्दछ, बालबालिकाको वृद्धि र विकासका लागि यो अत्यावश्यक पनि छ, यसलाई स्वास्थ्यको दृष्टिबाट ख्याल गर्नुपर्दछ,” डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना याकवले वक्तव्यमा लेख्नुभएको छ ।

डब्लुएचओले आमाको दुधको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखेको छ । छ महिनादेखि दुई बर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन पनि डब्लुएचओले सुझाव दिएको छ ।  

डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!