महोत्तरीको सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै

Posted on: 16 Jul, 2019

गोपालप्रसाद बराल, असार ३१, बर्दिवास । झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन् । केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन् । 

केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहित रु तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ । बैंकको सामाजिक कोषअन्तर्गत यी उपकरण उपलब्ध गराइएको बैंकका प्रदेश–२ का मुख्य प्रबन्धक उज्ज्वल घिमिरेले जानकारी दिनुभयो । यी उपकरणको उपलब्धताले गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार अब सहज हुने भएको छ । यी उपकरणकै अभावमा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । 

यसअघि गत वर्ष असारमै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएको थियो । सौर्य ऊर्जाले प्रकाश र अत्यावश्यक औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ । त्यतिखेरै सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४ दशमलव ४ केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री पनि जडान गरिएका थिए । केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभीए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताउनुभयो ।

चट्याङप्रतिरोधी प्रविधिजडित सौर्य ऊर्जा सञ्चय गर्न आठ अत्याधुनिक प्यानल जडान गरिएका छन् । बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुग्दै आएको केन्द्रले जनाएको छ ।

अहिले लक्ष्मी बैंकले अत्यावश्यक उपचार उपकरण सहयोग गरेपछि साधन थपिँदै गएर उपचार प्रभावकारी र सहज बनेको अध्यक्ष देवकोटाको भनाइ छ । सौर्य ऊर्जा प्रयोगमा आएपछि औषधि भण्डारण गरिने फ्रिज, पङ्खा र प्रकाशको व्यवस्थापनका लागि निकै सहज भएको र विद्युत्भार कटौती भएको केन्द्रले जनाएको छ ।

यसअघि उपचार केन्द्रमा नियमित प्रकाश र  भेन्टिलेटर सुविधा एवं थप उपचार उपकरणसहितको सघन उपचारकक्षको आवश्यकता औँल्याइँदै आइएको थियो । अब अक्सिजन दिनपर्ने बिरामीले यही उपचार पाउने भएका छन् । आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहितका उपकरणले उपचार प्रभावकारी हुने केन्द्रले जनाएको छ । अब थप  संशाधनका लागि सरकारको ध्यानाकर्षण गराइएको केन्द्रका अध्यक्ष देवकोटाले बताउनुभएको छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करीब तीन हजारले उपचार सेवा लिइसकेका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् । यस भेगमा अत्यन्त विषालु गोमन र करेत सर्पको बिगबिगी रहँदै आएको छ । खासगरी चर्को गर्मीपछि पानी पर्दा सर्प बस्ने दुलामा पानी भरिनासाथ बर्दिवास क्षेत्रमा सर्पको बिगबिगी देखिने गरेको छ ।

 सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने छ दक्ष प्राविधिक उपलब्ध गराउँदै आएको छ । केन्द्रमा हालसम्म ३१ सर्पदंशका बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केका अध्यक्ष देवकोटाले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!