अष्ट्रेलियाको अस्पतालका २२ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

Posted on: 16 Jul, 2019

 असार ३१, (रासस/सिन्ह्वा)  ।  अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका  छन् । 

अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ ।

अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब ५०० जना प्रतिनिधिहरुले मङ्गलबार आगामी अगष्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि आज मतदान गरेका बताइएको छ ।

उनीहरुले आगामी अगष्ट १ तारिखमा चार घन्टासम्म काम रोक्ने माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेका बताइएको छ ।

उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गरेका छन् । थप सुरक्षा व्यवस्था नहुदासम्म आफूहरुले काम नगर्ने उनीहरुले जनाएका छन् ।

न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भन्नुभयो– अस्पतालमा नै कैयौँको हत्या भएको छ, कैयौँ माथि छुरा हानिएको छ र कैयौँलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ ।   

हामीले अहिले जे देखिरहेका छौँ त्यसलाई आधारभूत रुपमा नै परिवर्तन गर्ने बेला हो यो– उहाँले भन्नुभयो । मजदुर प्रतिनिधिहरुले अति भएर नै यो मतदान गरेको उहाँको भनाई थियो ।

उहाँले थप २५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरुले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा ४६५ ओटा आक्रमणका घटना भएका थिए । पहिलो पटक वर्ष दिनमा यतिधेरै आक्रमणका घटना भएकोले आफूहरुमा असुरक्षा महसुश भएको पनि उहाँले बताउनुभयो ।

उहाँले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका विरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै विरामी र कहिलेकाहीँ विरामीका आफन्तहरुले पनि स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्ने गरेकोले जानकारी दिनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् सबै कर्मचारीहरुमा पनि असुरक्षा बढेको यहाँका स्वास्थ्यकर्मीहरुले विगत लामो समयदेखि बताउँदै आएका छन् । 

यहाँका चिकित्सकहरुले आफूहरुले जहिले पनि विरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षालाई यसैगरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन् । 

उनीहरुले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका विरामीहरुलाई कुनै पनि किसीमको अप्ठेरो नपार्ने नीति आफूहरुको रहेको पनि बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!