बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने

Posted on: 18 Jul, 2019

साउन २, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभएको छ ।

ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो  स्थानीय निकाय हो ।

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताउनुभयो । किसानलाई शुरुमा रु ५०० देखि रु एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताउनुभयो ।

 रु ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि रु ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाले नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका अरु नौ स्थानीय तहभन्दा यो निर्णय पनि बुढीगङ्गाले फरक गरेको हो । रु एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो । सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।

नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोेजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ । नगरसभाले त्यसका लागि पनि रु एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै दुई सय भन्दा बढी बिरुवा रोप्ने, पाँच रोपनीमा तरकारी खेती गर्ने, पाँचभन्दा बढी गाई–भैँसीपालन गर्ने लक्ष्य नगरले लिएको छ ।

विकासमा नयाँपन नआएको र विकास बजेटसमेत खर्च नगरेको आरोप लागिरहेको बेला ल्याइएको नीति तथा कार्यक्रमले केही ऊर्जा थपिएको नगरपालिकाका स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । कृषकलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले प्रतिक्रिया दिनुभयो । स्थानीयवासीसमेत रहनुभएका जैशीले किसान महासङ्घले छलफलमा ल्याए पनि कार्यान्वनका लागि बुढीगङ्गाले पहिलो निर्णय गरेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!