नवलपरासीमा जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना

Posted on: 18 Jul, 2019

साउन २, नवलपरासी  | पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो । 

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । “कार्यालयमा महिला सेवाग्राहीको चाप हुने गरेको छ, कतिपय बालबच्चासहित आउनुहुन्छ, विभिन्न सेवा लिन आउँदा केही समय लाइनमा बस्नुपर्ने वा कुर्नुपर्ने हुनसक्छ, त्यस्तो अवस्थामा दुधे बालबच्चालाई स्तनपान गराउन सहयोग पुग्ने र बालबालिकाको आमाको दूध पान गर्न पाउने अधिकारलाई संरक्षण गर्न पनि हामीले यो कक्ष स्थापना गरेका हौँ”, प्रजिअ मरासिनीले भन्नुभयो । 

कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताउनुभयो । कार्यालयलाई महिलामैत्री बनाउनका लागि पनि यो शुरुआत गरेको उहाँको भनाइ थियो । 

पाल्हिनन्दन–५ की शोभावती हरिजने आफू नागरिकताका लागि केही समयको कुराइमा बस्दै गर्दा स्तनपान कक्षमा बसेर आफ्नो बच्चालाई दूध खुवाउन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । जिल्लाका अन्य कार्यालय र गाउँपालिका-नगरपालिकामा पनि यस्ता कक्षको स्थापना गर्नुपर्ने उहाँको सुझाव थियो । 

यसैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिक सहायता कक्ष पनि  स्थापना गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्न र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनका लागि यो कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट पुरानो सेवा र ढाँचालाई अन्त्य गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्दै सन्तुष्ट बनाउने गरी सेवाप्रवाह चुस्त बनाइएको प्रजिअ मरासिनीको भनाइ छ । नागरिक सहायता कक्ष स्थापना भएपछि सेवाग्राहीले पनि सहजता महसुस गरेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!