दाङमा वडाध्यक्षको कुटाइबाट बालक घाइते

Posted on: 18 Jul, 2019

साउन २,  दाङ  | दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् । 

हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताउनुभयो । कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन् ।

उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ ।

बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताउनुभयो । बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उहाँको भनाइ छ । 

रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताउनुभयो । वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताउनुभयो तर बालकले फूल नै नटिपेको बताए ।

उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन् । उहाँले उपचारका लागि खर्च दिनेसमेत बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!