साढे चार सय मुक्त हलियाको पुनःस्थापना

Posted on: 21 Jul, 2019

साउन ५, दार्चुला | जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो ।

जिल्लामा ४३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र मध्यपश्चिमका १२ जिल्लामा हलिया रहेका भन्दै सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । जसमा दार्चुलाले पहिलो नम्बरमा हलिया मुक्त पुनःस्थापना गरिसकेको हलिया मुक्त पुनःस्थापना कार्यदलका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । परिचयपत्रका आधारमा समितिले उनीहरुलाई पुनःस्थापना गरेको छ । 

हलिया मुक्ति पुनःस्थापनाअन्तर्गत जिल्लामा जग्गा खरीद, घर निर्माण तथा घर मर्मतका कार्र्य गरिएका छन् । कूल ४५९ जना हलिया सूचीकृत रहेकामा २५ जना हलिया पुनःस्थापना सूचीमा नआएपछि बाँकी हलियाको पुनःस्थापना घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो । 

जिल्लामा पुनःस्थापनाअन्तर्गत ६१ जना हलियाको जग्गा खरीद तथा घर निर्माण, ३१ जना हलियाको घर निर्माण र ३४२ जनाको घर मर्मत गरेर पुनःस्थापना गरिएको मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्ना जानकारी गराउनुभयो ।

जिल्लाका साविकका १६ गाविसमा रहेका मुक्त हलियाहरु हलियामा सूचीकृत भएको तथ्याङ्क थियो । पुनःस्थापनाको कार्यक्रम सकिएसँगै आगामी वर्षदेखि हलिया मुक्ति पुनःस्थापनाका लागि भन्दै थप बजेट नआउने समितिका संयोजक विष्टले बताउनुभयो । ‘मुक्त हलिया पुनस्स्थापनाको ढाँचा र कार्ययोजना, २०७०’ ले आफ्नो स्वामित्वमा घर र जग्गा दुवै नभएकालाई ‘क’, घर भएका तर जग्गा नभएकालाई ‘ख’, आफ्नो जग्गा भएका तर घर नभएकालाई ‘ग’ तथा घर र जग्गा दुवै भएकालाई ‘घ’ वर्गमा वर्गीकरण गरेको थियो ।

सरकारले हलियामुक्ति घोषणा गर्दा गरेको सम्झौताअनुसार पुनःस्थापनाको काम गर्न नसकेको भन्दै हलिया मुक्ति समाजले ज्ञापनपत्रसमेत बुझाएको छ । स्थानीय तहमार्फत छुट हलिया परिचयपत्र वितरण गर्न तथा पुनःस्थापनाको कार्यक्रम समेट्न आग्रह गरिएको हलिया मुक्ति समाजका कार्यवाहक अध्यक्ष केशवराम पार्कीले जानकारी दिनुभयो । 

हलियासँग भएको सम्झौताअनुसार सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन र सामाजिक समावेशीकरण जस्ता क्षेत्रमा काम नगरेको भन्दै हलियाले पुनः सरकारलाई ज्ञापनसमेत बुझाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!