इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौं । इटालियन क्लब युभेन्टस इंग्लिस क्लब टोटनहृयामसँग पराजित भएको छ । 

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा सिंगापुरमा भएको खेलमा टोटनहृयामले युभेन्टसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा एरिक लामेला, लुकास मौरा र हृयारी केनले गोल गरे । यता, युभेन्टसका लागि गोञ्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि टोटनहृयामलाई रोक्न भने सकेनन् ।

३१औं मिनेटमा इरिकले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दा दुई गोल नै खान पुगेको थियो ।

युभेन्टसको लागि खेलको ५६औं मिनेटमा हिगुइनले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि नै अर्थात खेलको ६०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए ।

तर यो अग्रता धेरैबेर टिक्न सकेन । खेलको ६५ औं मिनेटमा नै मौराले गोल गर्दै टोटनहृयामलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ९० औं मिनेटमा टोटनहृयामले अर्को गोल थप्दै जित सुनिश्चित गरेको हो । यो पटक भने केनले उत्कृष्ट गोल गर्दै टोटनहृयामलाई ३-२ गोलअन्तरको जित दिलाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!