प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

Posted on: 24 Jul, 2019

साउन ८, काठमाडौँ  |   प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको  छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थल मात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ । अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ । पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् । आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजीकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुनेछ । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!