प्रम दैवीप्रकोप उद्धार कोषका लागि २५ लाख प्रदान

Posted on: 24 Jul, 2019

साउन ८, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा प्रधानमन्त्री ओलीले  प्रशासनलाई स्वच्छ र  पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । 

 प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भन्नुभयो,  “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक टे«ड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । 

उहाँले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र  सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भन्नुभयो । सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उहाँले बताउनुभयो ।  “कतिपयले माग राख्नुअघि नै आन्दोलन गर्न शुरु गर्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले लोकतन्त्र ल्याइसक्यौँ । लोकतान्त्रिक प्रणाली बसालिसक्यौँ । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नुपर्दैन ।” प्रधानमन्त्री ओलीले अब आन्दोलन नभई सिर्जनशील भई देशका लागि योगदान गर्ने समय आएको बताउनुभयो । उहाँले चुहावट र  अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि  स्पष्ट गर्नुभयो ।

यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई रु ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिनुभयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!