पर्साको ओरिया खोलाले बगाएकी किशोरीको लास फेला

Posted on: 25 Jul, 2019

साउन ९, वीरगञ्ज | ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ ।

उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र  यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो । यसैगरी मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको उक्त कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताउनुभयो । वर्षाको भेलले ठाउँ-ठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सावारी  साधन चल्ने भएकाले दर्जनौँ गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!