तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौं । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो ।

उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो ।

घलेले गाउँका बुढापाकासँग सोधे ।

गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो ।

उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे । 

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकमा आश गुरुङले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!