महोत्तरीका बाढी प्रभावित क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ कायमै

Posted on: 29 Jul, 2019

साउन १३, महोतरी  | बाढीबाट महोत्तरीका अधिकांश सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । 

मरहा, जङ्गहा, अङ्कुशी, रातो र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, जलेश्वर–बर्दिबास, जनकपुर–मटिहानी, जलेश्वर–बखरी–चकवा–बथनाहा, धमौरा–बर्दिबास, सम्सी–माइस्थान, लक्ष्मिनियाँ–रघुनाथपुर–खैरबन्नी सडकको विभिन्न स्थानमा यातायात नियमति गर्न कठिनाई भएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको भब्सी पुल नजिक सडक कटान गरी बगाएका कारण यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

बाढीले जनकपुर–भिठ्ठमोड सडकको पिपरामा ५० मिटर, सोही सडकको खैरा चोकभन्दा दक्षिण ६० मिटर, जलेश्वर–हर्दी सडकखण्डको एक दर्जन ठाउँमा सयौँ मिटर, त्यस्तै परिक्रमा सडकअन्तर्गत ४६ ठाउँमा सडक बगाएको बताइएको छ ।  दैनिक १५० देखि २०० सवारी साधन ओहोरदोहोर गर्ने ती सडक मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताउनुभयो । 

बाढीले सडक कटान गरी बगाएका कारण २५ करोड रुपैयाँको क्षति भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिनुभयो । क्षतिग्रस्त सडक पुनःमर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तीन करोड रुपैयाँ लाग्ने र त्यसका लागि सडक विभागमा पत्राचारसमेत गरिसकिएको उहाँले बताउनुभयो ।

हालको सडक संरचनाबाट बाढीको पानीको बहावलाई निकास दिन पर्याप्तमात्रामा ‘क्रस ड्रेनेज’ नभएका कारण बाढीले सडकमा बढी मात्रामा क्षति पु¥याएको जनकपुर परिक्रमा सडक प्रमुख देवेन्द्रकुमार साहले बताउनुभयो । उहाँका अनुसार सडक क्षतिग्रस्त हुनबाट बचाउन र समस्या सामाधानका लागि दीर्घकालीन अध्ययन हुनुपर्ने बताउनुभयो । 

बाढीबाट क्षति पुगेका सडकमा भेन्टर कज्वे, स्लेब कल्भर्ट, बक्स कल्भर्ट, ह्युमपाइप कल्भर्टलगायतका संरचना निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको उहाँले बताउनुभयो । 

सडकको हालको अवस्थालाई अध्ययन गरी दीर्घकालीन समस्या समाधानका लागि सडकको अनुसन्धान, मर्मतसम्भार र बजेटका लागि सम्बन्धित निकायमा बजेट निकासाका लागि आवश्यक पहल गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णयसमेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!