दुबईबाट शरद गौचनको हालतमा पुर्‍याइदिने भन्दै ठेकेदारलाई धम्की

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौं । चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूचनाका आधारमा विस्तृत अनुसन्धान थालेको छ। त्यस क्रममा दुई जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ।

सीआईबी प्रमुख डीआईजी नीरज शाहीले व्यवसायीलाई मार्ने धम्की दिएर पैसा माग्ने समूहबारे अनुसन्धान भइरहेको बताए।

‘केही फोन दुबईबाट आएको देखिन्छ। केहीले इन्टरनेट फोन प्रयोग गरी धम्क्याएको पायौं’, डीआईजी शाहीले भने, ‘प्रारम्भिक चरणमा दुई जनालाई समातेका छौं। हामी थप अनुसन्धानमै छौं।’

दुबईमा बसेर धम्क्याउने व्यक्तिविरुद्ध अनुसन्धानपछि तथ्यका आधारमा सीआईबीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हालतमा पुर्‍याइदिने धम्की दिएका छन्। शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो। फरक–फरक व्यक्तिले धम्क्याउने गरेको व्यवसायीको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!