उत्तर कोरियाद्वारा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

Posted on: 31 Jul, 2019

साउन १५, सियोल,  (रासस-एएफपी)  । उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष प्रकट गरेको उत्तर कोरियाले पछिल्ला केही महिनादेखि चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा बुधबार बिहानै दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको र यो करिब २५० किलोमिटर टाढा झरेको दक्षिण कोरियाली प्रधान सेनापतिले बताउनुभएको छ ।

सेनापतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा निरन्तर भइरहेका हतियार परीक्षणले कोरियाली द्वीपमा उत्पन्न तनाब कम हुन नसक्ने जनाउँदै उत्तर कोरियालाई धैर्य राख्न अनुरोध गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न प्रतिबन्ध लगाइएको छ तर एक हप्ताभित्रै उत्तर कोरियाको यो दोस्रो क्षेप्यास्त्र प्रहार हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुई पटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी परीक्षण गरिएका छन् ।

उत्तर कोरिया र अमेरिकाबीच उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सुल्झाउने बारेमा कूटनीतिक प्रयत्न भइरहेको छ । यही सिलसिलामा एकै वर्षभित्र उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताहरुबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

कोरियाली संकट समाधानका बारेमा केही अघि अबरुद्ध भएको वार्ता पुनः शुरु गर्ने सहमति भएको छ, तर त्यस्तो वार्ता अझै शुरु हुन सकेको छैन । 

राष्ट्रसंघीय प्रतिबन्धका कारण मुलुकको अर्थतन्त्र थिल्थिलो भए पनि उत्तर कोरियाले आणविक र अन्य अत्याधुनिक हतियार निर्माणको कार्यलाई तिब्र बनाइरहेको छ ।

उत्तर कोरियाले निर्माण गरिरहेका आधुनिक र लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रका कारण क्षेत्रीय र विश्व शान्तिमा असर पर्ने खतरा देखिएको अमेरिकी बुझाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!