कञ्चनपुरमा सर्पदंशका बिरामी बढ्दै

Posted on: 31 Jul, 2019

साउन १५, कंचनपुर  | नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ । झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो ।

 सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार-पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको बताउनुभयो ।

उहाँले उपचार केन्द्र स्थापना भएयता हालसम्म ७२८ जना बिरामीको उपचार गरिएको बताउनुभयो । “गत आर्थिक वर्षको वैशाखदेखि हालसम्म मात्रै यहाँ १५० बिरामीले समयमै उपचार पाएर ज्यान बचाएँ”,उहाँले भन्नुभयो, “सर्पदंश उपचार केन्द्र हुँदा स्थानीयवासीलाई धेरै सहज भएको छ ।”

सामुदायिक समितिबाट सञ्चालन गरिए पनि जनशक्ति र अन्य धेरै सुविधाहरु सेनाबाट उपलब्ध छ । “समितिलाई माग गरेअनुसार हामीलाई औषधि उपलब्ध गराउँछ”, कार्कीले भन्नुभयो, “अहिले बिरामीका लागि आवश्यक सबै औषधि र जनशक्ति मौज्दात छ ।”

चार श्यया रहेको उपचार केन्द्रको स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ । बर्सातका बेला तराईमा सर्पदंशको भय बढी हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!