चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on: 02 Aug, 2019

साउन १७, चितवन  । भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

 मोटरसाइकल चालक पनि घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय अभिषेक शर्मा घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

लागुऔषधसहित दुई पक्राउ

चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरिएको हो ।
 चितवन प्रहरीले उनीहरुलाई मोटरसाइकल गस्तीमा रहेका बेला शङ्कास्पद लागेपछि खोजतलास गर्दा उक्त लागुऔषधसहित बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!