मेस्सीलाई तीन महिने प्रतिबन्ध

Posted on: 03 Aug, 2019
आसुन्किअन, अर्जेन्टिना (रासस/एएफपी )  । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ ।
मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । 

उहाँलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् ।

अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उहाँले मैदान छोड्नु परेको थियो । 

बार्सिलोनाबाट खेल्दै आउनु भएका ३२ वर्षीय मेस्सीले त्यतिबेला “प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको” टिप्पणी गर्नु भएको थियो । 

दक्षिण अमेरिकी फुटबल संंघको निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय रहेको छ । 

प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उहाँ वञ्चित हुनुहुने भएको छ । 

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ । 

कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल संघले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो । 

दक्षिण अमेरिकी फुटबल संघले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो । चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!