मृग तर्साउन चलाएको गोली लागेर डोटीमा एक युवकको मृत्यु

Posted on: 04 Aug, 2019

साउन  १९, डोटी ।   मृग सम्झेर स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ  |  जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे    मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार  प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको   मृग ठानी भुलले चलाएको गाेली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानका क्रममा उनले भुलबश  लुहारलाई गोली लागेको बताएका छन् ।

प्रहरीका अनुसार मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।

जंगली जनावरलेहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!