आगामी ३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन मौसमविदको आग्रह

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौं । मौसमविदहरूले आगामी ३ दिन देशभर वर्षा हुने अनुमान गरेका छन् । केही स्थानमा हुने भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

 आगामी ३ दिन पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने अनुमान महाशाखाले गरेको छ । पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ । भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!