नुवाकोटको ककनी गाउँपालिका १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा एकजना पक्राउ

Posted on: 06 Aug, 2019

साउन २१, बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई शनिबार काठमाडौँको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो ।

सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ । 

उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उहाँ व्यवसायतर्फ लाग्नुभएकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!