मन्त्री बास्कोटा भन्छन्, ‘बालाजुको जग्गा खोई ? अब पानीमुनि गए पनि छोडिन्न

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं । चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा भन्छन्, ‘ बालाजुको जग्गा खोई ? नेपाली चलचित्रको विकासका लागि दिएको जग्गा व्यक्तिले ‘क्याप्चर’ गरेर मोजमस्ती गर्न मिल्छ ? अब पानीमुनि गए पनि छोडिन्न ।’

काठमाडौंको बालाजुमा रहेको  आफ्नो २० रोपनीभन्दा बढी जग्गा कसले बेचेर खायो भन्ने बारेमा सम्वद्ध पक्ष नै अहिलेसम्म बेखबर छ |  मन्त्री बास्कोटाले कडा चेतावनी  दिएपछि बोर्डले चलचित्र विकास कम्पनीको जग्गा कहाँ, कति रहेछ भनेर सोधखोज गर्न थाल्यो |  तर, सरोकारावाला निकाय कसैले पनि छानबिनमा सहयोग नगरेको बोर्डका पदाधिकारीको गुनासो छ | चलचित्र विकास कम्पनीको कुल जग्गा २७ रोपनी जग्गाको जम्मा ६.७५ रोपनी जग्गा रहेको तथ्य फेला पारेको बोर्डका अध्यक्ष केशव भट्टराई बताउछन  |

चलचित्र विकास बोर्डले आफ्नो जग्गाको अवस्था पत्ता लगाउन कम्पनी रजिष्ट्रारको कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शेयर कारोबार गर्ने संस्थालगायतलाई पत्राचार गरेपनि कसैले जग्गाबारे विस्तृत जानकारी दिन नचाहेको देखिन्छ |

सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले चलचित्र विकास बोर्डलाई बालाजुको जग्गा खोजविन गर्न दिएको निर्देशन फेरि मन्त्रालयमै फर्किएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डसम्बन्धी फाइल नै नभएको गैरजिम्मेवार जवाफ पठाएको छ ।

 भूमाफियासँगको मिलेमतोमा फाइल गायब पारेको बोर्डका पदाधिकारीहरू आशंका व्यक्त गर्छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र शेयर कारोबार गर्ने संस्थाले पनि चित्तबुझ्दो जवाफ नदिएको बोर्डका ती पदाधिकारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!