नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ

Posted on: 09 Aug, 2019

साउन २४, कावासोती (रासस) । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

लुअअसा ७३१ नंको कारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट डाइजोपामा १३० एम्पुल, नुफिन १३० एम्पुल र फेनेरागन १३० एम्पुल गरी ३९० एम्पुल लागुऔषध बरामद गरिएको छ । 

रुपन्देही निवासी राजकुमार श्रेष्ठ कार चालकका रूपमा रहेकाले उनको लागुऔषध ओसारपसारमा संलग्नता भए÷नभएको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

 नवलपरासी जिल्ला लागुऔषध कारोवारीको  ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमाक्षेत्र नवलपरासीको त्रिवेणी, महेशपुर, झोलनीपुरलगायतका क्षेत्रबाट लागुऔषध नेपाल भित्र्याउने र यहाँबाट देशका अन्य विभिन्न जिल्लामा पु¥याउने गरेको विभिन्न समयमा पक्राउ पर्ने लागुऔषध ओसारपसारकर्ताले बताउने गरेका छन् ।

भैरहवा नाकाबाट समेत लागुऔषध भित्र्याउने गरेको र नवलपरासीका विभिन्न स्थानमा राख्ने र अन्यत्र पु¥याउने गरेको पाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्गमा विशेष जाँच गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउभुयो । उहाँका अनुसार चितवन, नवलपरासीका युवा प्रायः ओसारपसारकर्ताका रूपमा पक्राउ पर्ने गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!