ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

Posted on: 10 Aug, 2019

साउन २५, चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । 

माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन् । त्यो तालभन्दा माथि डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने ‘धनलक्ष्मी छाँगा’का बारेमा माडीमै बस्ने पनि बेखबर छन् । झण्डै ६० मिटर उचाइबाट खस्ने छाँगालाई समेटेर यहाँको पर्यटकीय विकास गर्न माडी नगरपालिका अग्रसर भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ उक्त छाँगो रहेको छ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर कच्ची बाटो छ । गाडीबाट झरेपछि झण्डै आधा घण्टा उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । जङ्गलको हरियालीको बीचमा रहेको सानो ताल र माथिबाट झरेको धनलक्ष्मी छाँगोका कारण ताल आकर्षक देखिन्छ ।

“शतबीउ छर्ने बेलामा सर्वसाधारण पहिलादेखि नै यहाँ आउने गरेका हुन् । अचेल धार्मिक कारणका साथै घुमफिरका लागि पनि ताल भएको ठाउँमा आउने गर्छन्”, माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्ण अधिकारीले भन्नुभयो । त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी छाँगाको कसैल हेक्का राखेका थिएनन् । ताल वरपरको क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीउ छर्ने चलन छ । माडी–८ कान्तिपुर गाउँकी सावित्री रेग्मी घाँस दाउरा गर्न जाने गाउँलेबाहेक अरुलाई धनलक्ष्मी  छाँगोका बारेमा थाहा नभएको बताउनुहुन्छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल वैकुण्ठ क्षेत्रलाई एकीकृतरुपमा विकास गर्ने योजना बनाएपछि धनलक्ष्मी छाँगासम्म पर्यटक पु¥याउन सकिने बताउनुहुन्छ । वैकुण्ठ ताल र छाँगाको बीचमा दुई खोली दोभान छ । आकर्षक चट्टान पनि छ । “वैकुण्ठ ताल क्षेत्रमा फनपार्क, बुद्धको मूर्ति, बोटिङ गर्न मिल्ले ताल बनाउनेलगायत योजना छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो । वैकुण्ठ क्षेत्रको विकासका लागि सहरी विकास मन्त्रालयलेसमेत अग्रसरता लिएको छ । “हुलाकी सडकका पुल बन्दै छन् । बाटो बन्ने क्रममा छ”, ढकालले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!