नवलपरासीमा लागुऔषधसहित दुई पक्राउ

Posted on: 10 Aug, 2019

साउन २५, नवलपरासी | नवलपरासीपूर्व नवलपुरका विभिन्न दुई स्थानबाट प्रहरीले आज दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । 

उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भैरहवाबाट पोखराका लागि छुटेको ना५ख ८६९८ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजेपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ ।

यस्तै प्रहरीले आजै मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट अर्का एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । ना५२प २७०७ नंको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाइजन ३५  एम्पुल गरी १०७ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उहाँले  बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!