यमनको एडेनमा साउदी हवाई आक्रमण

Posted on: 11 Aug, 2019

साउन २६, एडेन । (रासस-सिन्ह्वा)  । साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ । 

नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिनुभयो । यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले हवाई कारबाहीबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको पनि बताउनुभयो । 

हवाई कारबाही पश्चात् एसटीसीसँग आबद्ध सेनाले आफ्नो गन्तव्यमा फिर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ । 

एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको छ ।

यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न चेतावनी दिएको थियो । साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धबिराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो । 

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ । एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ । 

यमन सरकारले सन् २०१५ देखि एडेनलाई राजधानी बनाएको छ । सन् २०१४ देखि शुरु भएको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ । यमनमा हुथी विद्रोहीलाई राजधानी साना सहित अधिकांश भूभागमा कब्जा जमाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!