अनाधिकृत रूपमा पार्किङ गर्ने ३९ हजार सवारी साधन कारबाहीमा

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौँ  | ट्राफिक प्रहरीले अनाधिकृत रूपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८ सय ८६ सवारी साधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रूपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारी साधनलाई कारबाही गरेको हो ।

 महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७०३ सवारी साधनलाई कारबाही गरेको थियो। महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोबाटो, कलंकीलगायतका फुटपाथ क्षेत्रमा अवैधरूपमा पार्किङ गर्ने सवारी साधनलाई कारबाही गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिए। महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारबाही गर्ने तथा ठूला सवारी साधनलाई ‘ह्वील लक’ लगाउने गरेको छ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर झण्डै ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!