घुम्ती शिविरबाट नागरिकले सरकारी सेवा सुविधा पाउने

Posted on: 18 Feb, 2016

फागनु ६, प्रज्वल पौडेल, रामेछाप । 

रामेछापका दुर्गम भेगका नागरिकले घरदैलोमै सरकारी सेवा सुविधा पाउने भएका छन् । यही फागुन २० गतेदेखि जिल्ला प्रशासनले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएपछि नागरिकहरुले घरदैलोमै नागरिकता, जग्गापास लगायतका सेवा घरमै पाउने भएका हुन् । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा बुधबार बसेको कार्यालयका प्रमुखहरुको वैठकमा सो जानकारी गराइएको हो ।

वैठकले फागुन २० र २१ गते भुजी गाविसमा, चैत्र ३ र ४ गते लखनपुरमा र चैत्र ५ र ६ गते गाल्पामा वृहत एकिकृत घुम्ति शिविरहरु सञ्चालन गर्ने निर्णय गरेको छ । घुम्ति शिविरमा नागरिकता प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहीतको मतदाता नामावली, कृषि सेवा तथा बीउ वितरण, पशुसेवा तथा औषधी वितरण, सर्वसाधारणको स्वास्थ्य परीक्षण, प्रविधि हस्तान्तरण, जनचेतना लगायत अन्य सेवाहरु प्रदान गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

शिविरहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन  सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको संयोजकत्व घुम्ति शिविर व्यवस्थापन कार्यदल गठन गरिने भएको छ । त्यस्तै कार्यालय प्रमुखहरुले जिल्लाका रेडियोबाट नियमित रुपमा जनगुनासो सुनी सम्बोधन गर्ने नयाँ योजना पनि अघि सारेको छ ।

बैठकले सडक सीमा अतिक्रमण गरि कुनैपनि नयां निर्माण गर्न नपाइने, जिल्लामा विकास निर्माणका योजना र कार्यक्रम तीब्रताकासाथ अगाडि बढाइ नियमित अनुगमन गर्ने, सवै कार्यालयहरुका सूचना अधिकारीहरुको नाम, थर, पद र मोवाइल नम्बरसहितको विवरण जिल्ला प्रशासन कार्यालयमा राख्ने र कुनैपनि राष्ट्रसेवकले कार्यालय समयभित्र ट्रेड यूनियनका काममा लाग्न नपाइने निर्णय समेत गरेको  प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभएको छ ।

shesh paudel

यस बिषयमा तपाइको प्रतिक्रिया...!