स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर ल्याइयो

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौं । स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि मास प्रिन्टर ल्याइएको हो ।

भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा लिएको छ । यो मेसिनलाई सिस्टमसँग जोड्न नै एक महिना बढी लाग्ने अनुमान छ । यो मास प्रिन्टरले घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । यो प्रिन्टरले अबको करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसक्नेछ ।

लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या अहिले ५ लाखभन्दा माथि छ । प्रिन्टमा समस्या कायमै रहेपछि स्मार्ट सवारी लाइसेन्स वितरणमा देखिएको समस्या फुकाउन भन्दै सरकारले मास प्रिन्टर खरिदको निर्णय लिएको थियो । मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ ।

विभागमा मागअनुसार लाइसेन्स बाँड्न नसकिएको ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । अब स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टरले विभागमा माग भएअनुसार लाइसेन्स छापेर बाड्न सकिने छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!