हिरासतको ताल्चा फोडेर दुई भारतीय थुनुवा फरार

Posted on: 13 Aug, 2019

साउन २८, इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतमा रहेका दुई भारतीय नागरिक हिरासतको ताला फोडेर भागेका छन् । केही सार्वजनिक मुद्दामा थुनामा रहेका भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल मंगलबार राति फरार भएका हुन् |

राति करिब साढे १ बजे हिरासतको ताला फोडेर उनीहरू भागेका थिए। झापा प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ। झापा प्रहरीका अनुसार दुई थुनुवामध्ये एक जनालाई दिउँसो भेट्न आएकी आमाले ‘केही चिज’ छोडेर गएकी थिइन्। ताला फोड्न उनले केही उपकरण छोडेर गएको हुनसक्ने अनुमा प्रहरीको छ | 

प्रहरी निरीक्षकको दरबन्दी रहेको धुलाबारी प्रहरीको हिरासतबाट थुनुवा भागेपछि झापा प्रहरीले छानबिन थालेको बताएको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वको टोलीले छानबिन थालेको छ | हिरासत २४ सै घन्टा प्रहरीको निगरानीमा हुन्छ। थुनुवा भागेका बेला ड्युटीमा रहेका प्रहरीमाथि अनुसन्धान भइरहेको मैनालीले बताए।

‘भागेका बखत हिरासत सुरक्षामा को खटिएको थियो र प्रहरीले ताल्चा फोडुन्जेल कसरी पत्तो पाएन भन्नेबारे अनुसन्धान भइरहेको छ,’ प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!