माछा मार्ने क्रममा जालमा बेरिएर दुईको मृत्यु

Posted on: 13 Aug, 2019

साउन २८, काठमाडौँ  | स्याङ्जाको चापाकोट नगरपालिकामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आले छन्।

ज्याग्दी खोलामा माछा मार्न गएका उनीहरूको जालमा बेरिएर सोमबार साँझ मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए। मृतकमध्ये आले चापाकोट नगरपालिका वडा नम्बर ४ को राम मन्दिर माविका स्थायी शिक्षक थिए। सोमबार अपरान्ह साढे चार बजे उनी वीरबहादुरको घर पुगेका थिए। ‘स्कुल छुट्टी भएपछि माछा मार्न जाउँ भन्दै उनी वीरबहादुरको घर पुगेका थिए,’ घिमिरेले भने।

अर्का बमबहादुर आलेसहित तीनै जना माछा मार्न खोलामा पुगेका थिए। माछा मार्ने सल्लाह गरेर पाँच बजे उनीहरू खोलामा पुगेका थिए। माछा मार्ने क्रममा वीरबहादुरले खोलामा जाल फालेका थिए। आफूले फालेको जालले उनलाई बेरेपछि खोलामा डुबेका थिए।

प्रहरीका अनुसार, शिक्षक निरबहादुरले उनलाई बचाउन आफ्नो जाल खोलामा फालेका थिए। साथीलाई बचाउन जाल फालेका उनी पनि जालमा बेरिएर डुबेका थिए। ‘दुबै केही समय बग्दै गएर कौडे नहरमा पुगेर अड्किएका थिए, त्यतिबेलासम्म ज्यान गइसकेको थियो,’ |

दुबैलाई खोलाले बगाएपछि अर्का बमबहादुरले प्रहरीलाई खबर गरेका थिए। दुबैको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको घिमिरेले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!