बैतडीमा सात हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

Posted on: 15 Aug, 2019

साउन ३०, बैतडी ।  साउन आउँदो मङ्सिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत सङ्कलन गरिएको मतदाता नामावली सङ्कलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो ।  

बैतडीमा यही साउन १६ गतेसम्म एक लाख ४३ हजार २४३ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभयो । विसं २०७४ भदौ ४ गतेसम्म बैतडीमा एक लाख ३६ हजार २४२ को मतदाता नामावलीमा नाम दर्ता रहेको थियो । प्रतिनिधिसभाको निर्वाचनमा एक लाख ३२ हजार ३१९ ले मतदान गर्न पाउने अन्तिममा नामावली आएको थियो । मतदान गर्न नपाउने १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए । १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचन मतदानमा सहभागी हुन पाउने व्यवस्था छ ।  त्यसपश्चात पुनः शुरु भएको मतदाता नामावली सङ्कलनमा बैतडीमा सात हजार एक जनाले आफ्नो नाम दर्ता गराएका छन् । 

सङ्कलन भएका मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्तामा मात्र वास्तविक नामावली आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीका तीन वडामा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । वडाध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो । दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको बिरामी भई निधन भएको र पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । 

उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउने छन् । बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि आगामी मङ्सिरमा उपनिर्वाचन हुँदैछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!