बेलायती नागरिकलाई चार लाखमा शिशु बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौँ  | शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसरका अनुसार बर्थिङ सेन्टरसँग समेत मिलेमतो गरी डंगोलले बेलायती नागरिक डोना स्मिथलाई शिशु बिक्री गर्न खोजेका थिए। चार लाख रुपैयाँसमेत लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ | बेलायती नागरिक स्मिथ २६ जुलाईमा नेपाल आएकी थिइन्। डंगोलसँगै प्रहरीले स्मिथलाई पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको छ।

अहिले अनुसन्धान भइरहेको छ। बाल मन्दिरमा यस्ता अरू पनि घटना भएका हुन सक्ने भएकाले प्रहरीले खोजि रहेको छ  | दुवैलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको प्रहरीको  भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!