कतारमा भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु, अनावश्यक भीडभाडमा नजान दूतावासको आग्रह

Posted on: 15 Aug, 2019

साउन  ३०, काठमाडौँ  | कतारको दोहामा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु भएको छ। दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक नेपालीको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको जनाइएको छ। घाइते हुनेमा सुनसरी कै उमर अन्सारी, इब्राहिम अन्सारी, नौसद अन्सारी, अकवर मियाँ र महसुद अन्सारी रहेका छन्।

पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ। दूतावासका अनुसार घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने सामान्य अवस्थामा छन्।

घटनापछि पक्राउ परेका घाइते अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासतमुक्त गराइसकेको दूतावासले जनाएको छ। घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।

नेपाली दूतावासले घटनाप्रति दुख व्यक्त गर्दै कतारमा रहेका नेपालीलाई अनावश्यक भीडभाडमा नजान आग्रह गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!