एउटै जिल्लामा कतै सार्वजनिक विदा, कतै शैक्षिक विदा मात्रै

Posted on: 15 Aug, 2019

साउन ३०, दाङ  | जनैपूर्णिमाको अवसरमा एउटै जिल्लामा पनि कतै सार्वजनिक विदा दिइएको छ भने कतै शैक्षिक संस्थामा मात्रै विदा दिइएको छ। जिल्लाका दुई उपमहानगरपालिका मध्य घोराहीले जनै पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको छ । 

रक्षावन्धन र जनैपूर्णिमा तथा स्थानीय नेवार समुदायको गाइजात्रा समेतलाई मध्यनजर गर्दैै सार्वजनिक विदा दिइएको छ। उपमहानगरपालिकाको बुधवारको बैठकले उपमहानगर र अन्तरर्गतका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हाे।

तर तुलसीपुर उपमहानगरपालिकाले भने विद्यालयहरुमा मात्रै विदा दिने निर्णय गरेको छ । जनैपूर्णिमाकाे सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी शैक्षिक विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा विदा दिइएको बताए ।

शैक्षिक संस्था बाहेक अरुलाई भने विदा प्रदान गरिएको छैन। किन शिक्षा क्षेत्रमा मात्रै विदा दिइएको हो? भन्ने प्रश्न गर्दा शिक्षा संयोजक विकले भने–‘विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको वोध गर्दै विदा दिएका हौं।’

शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा विदा दिँदै आएको हुँदा जनैपूर्णिमाको अवसरमा भने शैक्षिक संस्थाहरुलाई मात्रै विदा दिने निर्णय भएको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!