अग्नि पिडित शिशुलाई आर्थिक सहयोग

Posted on: 21 Aug, 2019

चिसाङ शेर्पा | भदौ ४, खोटाङ | अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित शिशुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान अशारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रबिन राईको उचित शिक्षादिक्षा तथा पालनपोषणका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।

अमेरिका वसोवास गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका मिङमा शेर्पाको पहलमा ३० जनाबाट संकलित १ लाख १८ हजार ४ सय ५० रुपैयाँ सहयोग प्राप्त भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जय कुमार राईले जानकारी दिए । शेर्पा संघ अमेरिकाका उपाध्यक्ष समेत रहेका शेर्पाले यायोक्खा उपाध्यक्ष राईको अनुरोधमा अति महत्वपुर्ण मानवीय सहयोगमा ऐक्यबद्धता जनाउदै अमेरिकावासी नेपालीहरुसँग संकलन अभियान चलाएका थिए । यस्तै, मानवीय सेवामा आगामी दिनहरुमा पनि खुलेर सहयोग गरिने शेर्पाले बताए ।

१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न गएको बेला प्रबिन अगेनामा परेर गम्भिर घाईते भएका थिए । आगोले जलेको शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको छ । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले सहयोगी मनहरुबाट संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शिशुका लागि स्वस्फुर्त रुपमा सहयोग जुटिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!