२५० आर्मी अधिकृतका लागि जागिर खुल्यो

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौँ | नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदपूर्ति गर्न छनोट निर्देशनालय कार्यरथी विभागले सूचना जारी गर्दै समावेशी र खुला प्रतिस्पर्धाबाट २ सय ५० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ |

विभागले खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा कुनै शारीरिक चोटपटक लागि सोही कारणबस शारीरिक अशक्त भएका र कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका नेपाली सैनिकको सन्ततीतर्फ २२, महिलातर्फ २२, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ ३१, दलिततर्फ १७, पिछडिएको क्षेत्रतर्फ ६ जना गरी २ सय ५० जना लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ४ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन्। नेपालि सेनाको वेबसाइट https://www.nepalarmy.mil.np/ मा अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउटसहित तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न सकिन्छ।

आवेदकको शैक्षिक योग्यता र उमेर दुई प्रकारको छ। प्रमाणपत्र तह वा सोसरह योग्यता भएमा २१ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै स्नातकतह उत्तिर्ण भएमा २४ वर्ष पार नगरेको हुनुपर्ने छ।

विदेशबाट एसएलसी वा प्रमाणपत्र तह अनिवार्य गणित विषय लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

त्यस्तै, पुरूषको न्यूनतम उचाइ ५ फिट ३ इन्च, महिलाको ५ फिट हुनुपर्ने छ। पुरुषको छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ। त्यसैगरी पुरुष न्यूनतम ५० र महिला ४० केजी तौलको हुनुपर्ने सूचनामा उल्लेख छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!